जाजरकोटमा शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस

जाजरकोट । शिवालयको एक सरकारी विद्यालयमा शिक्षकले विद्यार्थीलाई बेहोस हुनेगरी कुटपिट गरेका छन् । शिवालय गाउँपालिका वडा नम्बर १ स्यापी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दीपक खत्रीले कक्षा नौ मा अध्ययनरत जानकी विकलाई शुक्रवार बेहोस हुनेगरी कुटेका हुन् । विद्यालयमा खाजा खाने क्रममा अन्य विद्यार्थीको झगडा परेको बेलामा विक छुट्याउन जाँदा सोही बिषयलाई लिएर शिक्षकले लठ्ठीले कुटेर विकलाई बेहोस बनाएको उनका हजुरबुवा विर बहादुर विकले दर्शन खबरलाई जानकारी दिए । शिक्षक खत्रीले जानकीलाई कुटेपछि दाईले यस बारेमा बुझ्न खोज्दा दाईलाई पनि लात्तिले कुटेको साथै शिक्षकले बहिनीलाई कुटेको हो भन्ने कुरा पनि गोप्यमा राख्न उनले आग्रह समेत गरेका थिए । ‘ सरले यो कुरा गोप्यमा राख्नु यदि कसैलाई भनेमा तलाई म विद्यालयबाट निकालिदिने हो भनि धम्की समेत दिनुभयो ।’‚ उनले भने‚ शिक्षकले कुटपिट गरेपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जमा रहेको नर्सिङ्ग होममा उपचारकाे लगिएको र उनको अवस्था अहिले सामान्य रहेको हजुरबुवा विकले बताए ।

यता शिवालय गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष नर बहादुर रानाले शिक्षकले विद्यार्थीलाई कुटेको कुरा गलत भएको बताए । उनले शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा झगडा गर्नुहुन्न भनि सम्झाएको तर विद्यार्थीलाई भने नकुटेको दाबी गरे । यस्तै शिवालय गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मान बहादुर बस्नेतले पनि शिक्षक खत्रीले विद्यार्थीलाई कुटेको कुरा शतप्रतिशत गलत भएको बताए । उनले पनि विद्यालयमा विद्यार्थीहरुलाई सम्झाएको तर नकुटेको दाबी गरे । खत्री भर्खरै मात्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नियुक्त भएका थिए । उनले गणित र विज्ञान विषय पढाईरहेका छन् । यता विद्यार्थी पिट्ने शिक्षक नचाहिने भन्दै विद्यार्थी तथा अभिभावकहरूले तत्काल विद्यालयबाट हटाउनु पर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया