हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित डाडाबका स्थानीयहरुले डेढ घण्टा पैदल हिडेर खानेपानी ल्याउनु पर्ने बाध्यता रहेको छ । यस क्षेत्रमा विशेष त बालबालिकाले खानेपानी बोक्नु पर्ने बाध्यता पनि देखिएको छ । घरमा आमाबुवा अन्य काममा व्यस्त हुने हुदाँ बाध्य भएर डेढ घण्टा लगाइ विद्यालयको समय बाहेक साँझ बिहान पिउने पानी बोक्नुपर्ने बाध्य हुँदा आफुहरुलाई पढ्ने समय नभएको ११ बर्षे बालक कृष्ण बुढाले बताए । विभिन्न निकायसङ्ग खानेपानीको समस्याबारे बिगत देखि बोल्दै आएको र सम्बन्धित निकायले आश्वासन मात्रै दिदै आएको यस क्षेत्रका स्थानीयहरुले आरोप लगाएका छन् । बिगतदेखि नै आफुहरुले पानीको समस्या झेल्दै आएको स्थानीय पुर्ण बहादुर वलिले बताए । खानेपानी लिनका लागि खोलाढाब जानू पर्ने र जाँदा ओरालो आउदा उकालो बाटो पर्ने हुँदा करिब डेढ घण्टा लाग्ने उनले बताए ।
पानी धेरै टाढाबाट ल्याउनुपर्ने भएकाले घरको एक सदस्यलाई दिन भर पानी बोक्न लाग्ने वलिले बताए । यस्तै स्थानिय रिम बहादुर वलिले विभिन्न राजनिती दलहरुले चुनावको बेलामा लिफ्ट मार्फत खानेपानीको व्यवस्थापन गर्छौ भन्दै पटक पटक यहाँका स्थानीयहरुलाई आश्वासन मात्र दिने काम भए को र हाल कुनै पनि चासो नदेखाएको गुनासो व्यक्त गरे । गाउँघरमा पिउने पानी देखि लिएर गाईबस्तु लगायत शुभकार्य र निर्माण कार्य गर्नलाई पानी पुर्याउन झन ठूलो समस्या रहेको स्थानीयको भनाई छ । खानेपानी टाढा हुँदा सरसफाई सङ्गै स्वच्छ पिउने पानीमा पनि समस्या भएको हुदा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिए पनि यस क्षेत्रमा पानी अभावका कारण शौचालय पनि प्रयोगमा नआएको देखिन्छ । यस क्षेत्रमा करिब २ दर्जन बढी घरधुरीका स्थानीय बासिहरुले खानेपानीको समस्या झेल्नु परेको छ ।


दर्शन खबर । २ फाल्गुन २०७९, मंगलवार