वीरेन्द्रनगरको गोठीकाँडामा पूर्वसूचना प्रणाली जडान गरिँदै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा पूर्वसूचना प्रणाली जडान गर्न लागिएको छ ।
वीरेन्द्रनगर–१४ गोठीकाँडामा स्वचालित पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो ।
सहरी विपद् जोखिम व्यवस्थापन परियोजना, जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत, नेपाल रेडक्रस सोसाइटी सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाबीच समन्वय गरी बाढी पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो ।
स्वचालित सामग्री जडानका लागि १० लाख ४० हजार रुपैयाँ लाग्ने सहरी विपद जोखिम व्यवस्थापन परियोजनाले जनाएको छ ।
उक्त रकममध्ये ३ लाख रुपैयाँ नगरपालिकाले व्यहोर्ने छ भने बाँकी परियोजनाले व्यहोर्ने रेडक्रस सुर्खेत शाखाका हरिहर बजगाइँले जानकारी दिए ।
नगरभित्र सम्भावित जलउत्पन्न प्रकोपका कारण सिर्जना हुने विपद जोखिम व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीको भूमिका रहने उनले बताए ।
बजगाइँका अनुसार बाढी पूर्वसूचना प्रणाली जडान कार्य मंसिरभित्र सम्पन्न हुनेछ ।
सामग्री जडानपछि वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा डिजिटल बोर्ड राखेर दैनिक मौसमसम्बन्धी जानकारी दिइने नगरपालिकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार पूर्व सूचना प्रणाली जडान गरिसकेपछि यस विषयमा सरोकारवालाहरूसँग क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू पनि गरिनेछ ।
हाल वीरेन्द्रनगरभित्र विमानस्थल र ईत्राममा रहेको जल तथा मौसम विज्ञान कार्यालयमा पूर्वसूचना प्रणाली जडित छन् ।
ईत्राममा रहेको प्रणाली भने बिग्रिएको छ। गोठीकाँडामा प्रणाली जडान गरिएसँगै बिग्रिएको उक्त सामग्री पनि मर्मत गरिने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ ।
यस्तै, नगरपालिकाले पूर्वसूचना प्रणालीमार्फत् मौसमसम्बन्धी जानकारी आवश्यकता अनुसार मोबाइल प्रयोगकर्तालाई पनि एसएमएस गर्ने व्यवस्था मिलाउने मेयर सुवेदीले जानकारी दिए । सेतोपाटिबाट

तपाईको प्रतिक्रिया