बर्दिया । बिमा दाबी गर्न आफ्नै गाडीमा आगजनी गरेको पाइएको छ । बर्दिया मधुवन नगरपालिका–४, बसन्ता स्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने सडक खण्डमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी गरिएको खुलेको हो । प्रहरीका अनुसार प्रहरी टोली घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पूर्ण रुपमा क्षति भएको थियो । घटनास्थलमा कोही पनि नभएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा सवारी चालक रामु चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि आफैले आगो लगाएको खुलेको हो । प्रहरी अनुसन्धानको क्रममा यहि माघ २० गते सो गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा र्पुयाइएको पाइएको छ । मर्मत गर्न बढी रकम लाग्ने भएपछि बिमा रकम दाबी गर्ने मनसायले आइतबार राति छुट्टै जिपद्वारा टोचन लगाई सो गाडी मधुवन नगरपालिका –४, बसन्तास्थित सडकको पश्चिम किनारामा लगेर चालकले डिजेल छर्की आगो लगाउको खुलेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १ फाल्गुन २०७९, सोमबार