राजनितिक दबाब र प्रभावमा परे भ्रष्टाचार न्युनिकरण सम्भव छैन : प्रमुख पौडेल

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शिवनाथ पौडेलले राजनितिक दबाब र प्रभावबाट मुक्त पार्न नसके भ्रष्टाचार न्युनिकरण गर्न सम्भव नहुने बताएका छन् । शनिवार वीरेन्द्रनगरमा “मिलेर फालौ भ्रष्टाचारको जालो, सुशासन प्रवद्र्धनमा गरौ हातेमालो” भन्ने नाराका साथ आयोगको ३२ औ स्थापना दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख पौडेलले आयोगका विगतका सफलता कार्यहरू उल्लेख गर्दै आयोगको सुझाव र निर्देशन पालना गर्दै सेवाग्राहीको सहजीकरणका पद्दतिको अनुशरण हुन थालेको बताए । उनले जनताका आधारभूत सेवा लगायतका क्षेत्रमा हुने अनियमितता, घुसखोरी, विचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाउने र गलत कार्य एवं अनियमिततालाई कारवाहीको दायरामा लैजाने, सुक्ष्म अनुसन्धान टोली खटाई सेवा प्रवाह गर्ने निकायका अधिकारीलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउने विषय आयोगको उच्च प्राथमिकतामा रहेको बताए ।

आयोगलाई सरकार, सरोकारवाला निकाय र जनतावाट सहयोग प्राप्त हुने अपेक्षा समेत गरेको प्रमुख पौडेलले जानकारी दिए । कानुनी जटिलताको कारणले सोचे अनुरुपको काम गर्न नसकेको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार खोसिएको भन्दै कानुनी समस्याले नितिगत निर्णय गर्न आफुहरुले नसकेको उल्लेख गरे । प्रमुख पौडेलले २०१९ को संविधानले दिएको अधिकारलाई २०४७ र २०७२ को संविधानले अख्तियारको काम कर्तव्य र अधिकारलाई संकुचित गरेकोले जिकिर गरे । उनले अख्तियार प्रति जनताको विश्वास धेरै भएपनि कानुनी जटिलता र कानुनी प्रक्रिया लगायतले आफुहरुले भने अनुसार काम गर्न नसकेको टिप्पणी गुनासो गरे । कार्यक्रममा चालु आर्थिक वर्षको कार्य प्रगति विवरण उनुरी र फछ्र्यौटको अवस्था, विस्तृत अनुसन्धान र मुद्दा दायर भएका उजुरी र अन्य कार्यक्रमहरु प्रस्तुत गरीएको थियो ।


तपाईको प्रतिक्रिया