काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा संघ आन्दोलित बनेको हो । यसैबीच राष्ट्रपति भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिए।


दर्शन खबर । २८ माघ २०७९, शनिबार