महिलालाई आत्मनिर्भर बनाउँदै वीरेन्द्रनगर नगरपालिका


सुर्खेत । सीप नहुँदा घरमै बसेर दिन बिताउने वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ पिपिराकी सुधा सापकोटा अहिले अटोरिक्सा चलाउन थाल्नु भएको छ । कमजोर आर्थिक अवस्थाकी सापकोटाले हातमा सीप भएपछि अहिले अटोरिक्सा चलाएरै जिविका चलाउनु भएको हो । उहाँ भन्नुहुन्छ ‘पहिले हातमा सीप नहुँदा घरमै दिन गुजारिन्थ्यो, तर अहिले अटो चलाउन सिकेबाट आम्दानी गर्न सिकेकी छु ।’
अटो रिक्साबाट आम्दानी गर्न थाल्नु भएकी सुधा भन्नुहुन्छ ‘कुनैबेला पैसा देख्न मुस्किल पर्थ्यो, अहिले आफै कमाएर देख्न पाएकी छु । यसैले घरव्यवहार चलाउछु ।’ वीरेन्द्रनगर नगरपालिकाको अटोरिक्सा चलाउने एक महिने तालिममा सहभागि भएपछि उहाँले अटोरिक्सा चलाउन थाल्नु भएको छ ।
यस्तै वीरेन्द्रनगर वडा नं. ४ भैरवस्थानकी राधिका रम्तेल पनि ढाका बुनाई तालिमबाट सीप सिकेर आफुलाई बेरोजगारबाट स्वरोजगार बनाउनु सफल हुनु भएको छ । ३ महिने ढाका बुनाई तालिममा सहभागी बन्नु भएकी रम्तेलले ढाकाको कपडा समेत उत्पादन गर्ने गर्नुहुन्छ । ‘अहिलेसम्म घरमै बसेर चुलोचौको मात्रै गरियो, नगरपालिकाले दिएको ढाका बुनाई तालिमबाट सीप सिकेर ढाका उत्पादन गर्न सक्ने भएकी छु ।’ उहाँ भन्नुहुन्छ, ‘यसले गर्दा घरखर्च चलाउन सजिलो भएको छ ।’
सुधा र राधिका जस्तै जिल्लामा अहिले थुप्रै महिलाहरुले वीरेन्द्रनगर नगरपालिकाले दिएकोे सीपमुलक तालिममा सहभागि भएर आत्मनिर्भर बन्दै गएका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउनका लागि रोजगारमूलक सीप सिकाउन तालिम दिन थालेको छ । एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको समृद्धि र विकास भन्ने मुल नाराका साथ महिलालाई आत्मनिर्भर गराउने गरी नगरपालिका अघि बढेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले जनाएको छ । नगरपालिका आफैले तालिम दिएर अटो रिक्साको व्यवस्था गरिदिएपछि नगरमा ८ जना महिलाले अटोरिक्सा चलाउँदै आएका छन्भने २३ जना महिला लाईसेन्सको प्रक्रियामा रहेका छन् ।
उपप्रमुख मोहनमाया ढकालले अटो रिक्साका लागि नगरपालिकाले एक लाख अनुदान र एक लाख ऋणको व्यवस्था गरिदिएको बताउनु भयो । अटो रिक्साका लागि अन्य पैसा व्यवसायीसंग समन्वय गरिदिएर महिला आफैँले किस्ता तिर्नेगरी नगरपालिकाले अटो रिक्साको व्यवस्था गरिदिएको उप प्रमुख ढकालले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले एक लाख ऋण विना व्याजमा दिएको हो ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाले एउटा ट्रष्ट खोलेर सीप सिकेका महिलालाई कपडा उत्पादनमा लगाउने र बजारीकरण आफैँले गरिदिने तयारी गरेको छ । महिला स्वरोजगारका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैँया बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले अटो रिक्सा चलाउने बाहेक ढाका कपडा बुन्न र सिलाई कटाई तालिम पनि दिईरहेको छ । वीरेन्द्रनगर वडा नं. १४ र १५ मा २६ जना महिलालाई सिलाईकटाई तालिम दिई मेसिन वितरण गरिएको छ । वीरेन्द्रनगर वडा नं. ४ र १२ मा ६० जना महिलाले ढाका बुन्ने तालिम लिएका छन् । चालु आर्थिक वर्षमा थप ४० जना महिलालाई ढाका बुन्ने तालिम दिइने नगरपालिकाले जनाएको छ । खवरईराबाट

तपाईको प्रतिक्रिया