महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको निधन

दैलेख । महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गको ७५ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा जिल्ला अस्पताल दैलेखले उनलाई मृत घोषणा गरेको हो । बिहिबार मुटुमा दुखाई बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याईएको थियो । मेडिकलले अवस्था सामान्य भनेपछि बिहिबार राति नै उनी फिर्ता भएका थिए । शुक्रबार बिहान पुनः मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याउने क्रममा अस्पताल पुग्नै लाग्दा उनलाई हृदयघात भएको थियो । उनी महाबु गाउँपालिकामा नेपाली काँग्रेसबाट २ हजार ९७९ मत ल्याएर विजयी भएका थिए । कर्णाली प्रदेशका सबै स्थानीय तहमध्ये गुरुङ्ग ज्येष्ठ पालिका अध्यक्ष हुन् । २००३ साउन ६ गते जन्मिएका गुरुङ अहिले ७५ वर्षका थिए ।

गुरुङ्ग साविकको बडाखोला गाविस हाल महाबु गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०२६ सालमा २३ वर्षकै उमेरमा तत्कालीन बडाखोला गाउँपञ्चायतको प्रधानपञ्चको रुपमा निर्वाचित भएका थिए । त्यो समयदेखि नै उनी जनप्रतिनिधीको भूमिकामा रहेका उनले २०३६ सालको जनमत संग्रहमा नेपाली कांग्रेस पार्टीको आधिकारीक टिकटबाट पुनः प्रधानपञ्च चुनिएका थिए । तत्कालीन समयमा पार्टीको टिकट पाउनेहरुमध्ये गुरुङ जिल्लामै एकमात्र उम्मेदवार थिए । यस्तै, अध्यक्ष गुरुङ ०४९ सालमा तत्कालीन बडाखोला गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । साथै, नेपाली कांग्रेसको १२, १३ र १४ औं महाधिवेशन प्रतिधिनिधिसमेत रहेका थिए । उनी २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।


तपाईको प्रतिक्रिया