कर्णाली प्रदेशसभा : ५ वर्षमा ५३ विधेयक प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेश सभा स्थापना भएको शनिवार पाँच वर्ष पुरा भएको छ । २०७४ साल माघ २१ गते प्रदेश सभाको स्थापना भएको हो । सोही दिनलाई आधार मान्दै हरेक वर्ष भव्यताका साथ दिवस मनाईने गरिएको छ । पाँच वर्ष पूरा भई छैटौ वर्षमा प्रवेश गरिरहेको प्रदेश सभालाई सजावट गरिएको छ । स्थापना दिवसको अवसरमा भव्य कार्यक्रम, दीप प्रज्वलन, सम्मान लगायतका कार्यक्रम गर्दै दिवस मनाउन लागेको हो । पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रवेश गरेको प्रदेश सभाले नयाँ सदस्य, सभामुख र उपसभामुख तथा संसदीय दलका नेता पाइसकेको छ । दोस्रो कार्यकालको प्रदेश सभाको पहिलो अधिवेशनमा ६ वटा वैठक बसेका छन् । बैठकले सभामुख, उपसभामुख निर्वाचित गरिसकेको छ । कर्णाली प्रदेश सभाले पाँच बर्षको अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । त्यस्तै ६ वटा विधेयक विषयगत समितिमा छलफलका लागि पठाएको छ ।

३ वटा विधेयक प्रदेश सभामा दर्ता भई टेबुल हुन बाँकी र दुईवटा प्रक्रियामा रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । पहिलो कार्यकालमा २ सय १७ पटक बैठक बसेको थियो । कर्णाली प्रदेश सभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा विधेयक बनाएको छ । ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ । अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ । कर्णालीमा ४० जना सांसद सदस्यहरूले प्रतिनिधित्व गर्ने गरेका छन् । जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व छ । प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्तीलाई निर्वाचित गरेको थियो ।

प्रदेश सभाको पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सकेण्ड सभा चलेको थियो । कर्णाली प्रदेश सभाको कार्यकालको अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो । कर्णालीमा ५ वटा दलहरूले प्रतिनिधित्व गर्छन् । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ । यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम, मायाको चिनो समेत प्रदान गरीएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए । कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरु, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया