सल्यान। सल्यानमा घर पालुवा पशु चौपायामा रेबिज रोगको महामारी फैलिन थालेपछि कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले औषधी र भ्याक्सिन पठाएको छ । केही दिन पहिले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिकामा पशु चौपायामा अज्ञात रोगको महामारी देखिएको र यसको भयावह हुने अवस्था सृजना भएको खबर पाएपछि प्रदेश सरकारले औषधी र भ्याक्सिन पठाएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले औषधी लिएर बनगाड कुपिन्डे नगरपालिकाको पशु सेवा शाखालाई ३ सय र बागचौर नगरपालिकाको पशु सेवा शाखालाई ३ सय डोज भ्याक्सिन र औषधी हस्तान्तरण गरेका छन् । केही दिन पहिले स्थानीयले पालेका पशु चौपाया र छाडा पशु चौपाया अज्ञात रोगले मर्न थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले नमुना संकलन गरी पशुपक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो ।
कार्यालयले जिल्लाको तिन पालिकामा रेबिज रोगको अवस्था भयावह देखिन थालेको र स्थानीय तहहरुमा औषधि र भ्याक्सिनको अभाव भएको खबर गरेपछि समस्या समाधानको लागि तत्काल औषधीसहित पुगेकाे उनले बताए । शारदा नगरपालिकाको पशु सेवा शाखामा भने औषधिको अभाव नभएको खबर प्राप्त भएको र उपलब्ध भ्याक्सिन र औषधि बाट उपचार भइरहेको छ । समस्या भएको अन्य स्थानिका लागि पनि तत्काल उपचारको व्यवस्था गरिने मन्त्री शर्माले बताए । एक हप्ता पहिले फैलिएको अज्ञात रोगले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा ५ छाडा गाई र दुई कुकुर मरेका थिए भने बागचौर नगरपालिका क्षेत्रमा पशु चौपाया बिरामी परेका थिए । बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना संकलन गरी सुर्खेत पठाइएको बन्गाड कुपिण्डे नगरपालिकाका पशु शाखा प्रमुख विना राम रावतले बताए । रोग फैलिए पनि औषधी आभाव भएकाले प्रदेशमा माग गरिएको उनले बताए ।


दर्शन खबर । २१ माघ २०७९, शनिबार