नौलापुरमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ को आयोजनामा नौलापुरमा निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको हो । शिविरमा १ सय ९५ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको आधारभुत स्वास्थ्य चौकी नौलापुरका प्रमुख धन प्रसाद देवकोटाले जानकारी दिए । शिविरमा हाड जोर्नी तथा नसा रोग डाक्टर तेजेन्द्र साउथ र स्त्री रोग डाक्टर सुभेक्षा श्रेष्ठले चिकित्सकीय सेवा उपलब्ध गराएका थिए । यस्तै शनिवार नै सोही ठाउँमा नगर स्वास्थ्य शाखाको आयोजनामा पाठेघर मुखको क्यान्सर स्क्रिनिङ्ग तथा भिआईए जाँच पनि गरीएको थियो । स्वास्थ्य परीक्षण गरीएका बिरामीहरुलाई निशुल्क औषधी वितरण गरीएको प्रमुख देवकोटाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले समयमा नै आफ्नो स्वास्थ्यप्रति सजक भई समय–समयमा स्वास्थ्य चेक–जाँच गर्न सकेमा दिर्घकालिन रोगहरु लाग्नबाट बच्न सकिने बताएका थिए । उनले आगामी दिनमा वीरेन्द्रनगर नगरपालिकाका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम शर्माले वडा नम्बर ८ मा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए । उनले वडामा भएका आम नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकतामा राखेको बताए । वडा नम्बर ८ का वडा अध्यक्ष शर्माको अध्यक्षता र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख खनालको प्रमुख अतिथिमा उक्त शिविर सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया