प्रदेश रंगशालाको काम समयमै सम्पन्न गर्न मन्त्री शाहको निर्देशन


सुर्खेत । कर्णालीका अर्थमन्त्री विनोद शाहले शनिवार वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रंग शालाको अनुगमन गरेका छन् । अनुगमनका क्रममा रंग शाला निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने गरी काम गर्न निर्देशन दिएका छन् । रंगशाला निर्माणको लागी बजेटको अभाव हुन नदिने भन्दैै मन्त्री शाहले निर्धारित समयमा काम सम्पन्न गर्नु पर्ने बताए । रंगशालाको लागि बजेट अभाव हुन नदिने गरी प्रदेश सरकार अग्रसर हुने मन्त्री शाहले दावि गरे ।अर्थमन्त्री शाहले बजेटका सन्दर्भमा संघ सरकारसँग समेत पहल थालिने बताए । १० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासँगै कर्णालीमा खेलकुद पूर्वाधार र बजेटको व्यवस्थापनमा थप चुनौती देखएको छ ।

अहिले निर्माणाधीन प्रदेश गौरवको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्वीमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरु भइरहेका छन् । रङ्गशालाको शिलान्यास ०७८ कार्तिकमा पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको थिए । ०८१ जेठ ११ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनीले लिएको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत रहेको रङ्गशालामा १० हजार दर्शक अट्ने क्षमता छ । जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया