गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

जाजरकोट । शिवालय गाउँपालिकामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । शिवालय गाउँपालिका वडा नम्बर ३ मा रहेको सिभिल बैँकका कर्मचारी, शिवालय गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीहरूले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । कार्यपालिकाबाट समेत टोलमै गएर भत्ता वितरण गर्ने निर्णय गरिएको र सोहीअनुरूप टोलमै पुगेर भत्ता दिएको शिवालय गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले बताईन् । गाउँपालिकाका उपाध्यक्ष शाहीले चुनावी प्रतिवद्धतामा गाउँमै पुगेर भत्ता वितरण गर्ने बुझ्ने व्यवस्था गर्ने वचन दिएका थिए ।

वृद्धवृद्धा, असक्त, अपाङ्गता, एकल र बालबालिकालाई भत्ता लिन असहज भएको थियो । त्यसैले कार्यपालिकाबाट निर्णय गरेर नागरिक सहजताका लागि गाउँमै भत्ता वितरण गरीरहेका छौ,उपपं्रमुख शाहीले भनिन् । गाउँमा नै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम माघ २९ गतेसम्म जारी रहने सिभिल बैँकका शाखा प्रबन्धक रविन रानाले बताए । नौवटै वडाका सबै टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणमा सहज वातावरण सिर्जना गरिने उनले बताए । आज बुधबार वडा नं ६ का टोलहरूमा भत्ता वितरण गरिएको थियो । गाउँमै भत्ता प्राप्त गरेपछि सेवाग्राही खुसी भएका छन् । शिवालयका अधिकांश ठाउँमा वृद्धवृद्धा र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गहरूका लागि बैंकिङ प्रणाली असहज भइरहेको छ ।

तपाईको प्रतिक्रिया