सुर्खेत । पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा सहित होटल सञ्चालक र अन्य २ जना कर्मचारी विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले चारै जनाविरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरिएको भन्दै उजुरी परेको थियो ।
लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर समेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएका थिए । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लाल बहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेका थिए ।उनिहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावी सहित जरिवाना र कैद सजायको मागदावी गरिएको छ ।


दर्शन खबर । १२ माघ २०७९, बिहीबार