
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन । मुख्यमन्त्री शाहीले लगानीकर्ताहरुको लगानी सुरक्षा र मुनाफाको वातावरण तयार गर्न प्रदेश सरकार गम्भिर रुपमा लागेको वताए ।
चिन स्थित नेपाली राजदुतावासको आयोजनामा शनिवार काठमाण्डौंमा आयोजित Nepal–China Economic and Trade Cooperation Forum 2019 मा वोल्दै मुख्यमन्त्री शाहीले लगानीको वातावरण तयार गर्ने उद्धेश्यले प्रदेश सरकारले १० वर्ष सम्म करछुट दिने निर्णय गरेको वताए ।
उनले कर्णालीमा लगानीका प्रशस्त संभावना रहेको र प्रदेश सरकारले संभाव्य क्षेत्रहरुको परियोजना वैंक तथा प्राथमिकता निर्धारण गरेको जानकारी दिए । मुख्यमन्त्री शाहीले पुर्वाधार विकास, सामाजिक विकास, उत्पादन तथा औद्योगिकरण, पर्यटन तथा वातावरण र सुशासन क्षेत्रमा लगानीका लागि प्रदेश सरकारको प्राथमिकता रहेको वताए ।
कर्णालीमा २५ हजार मेगावाट विद्युत उत्पादन, वहुमुल्य यार्सा लगायतका जडिवुटी, पर्यटन, वहुमुल्य रत्नपत्थर तथा ग्यास तथा खनिज लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने मुख्यमन्त्री शाहीले वताए ।
कर्णाली करिडोरमा सडक पुर्वाधारको विकास संगै कर्णाली करिडोर हुदै मानसरोवरसम्म धार्मिक पर्यटनको ठुलो सम्भावना रहेको उनको भनाई छ । कर्णालीको राजधानी सुर्खेतमा पाँच तारे होटेल, प्रमुख पर्यटकीय स्थल रारा–शेफोक्शुण्डोमा स्तरीय होटेल सञ्चालनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले होटेल व्यवसायमा समेत लगानी गर्न आग्रह गरे ।
अर्गानिक कृषिको विकासका लागि प्रदेश सरकार लागि परेको वताउदै मुख्यमन्त्री शाहीले अर्गानिक मल कारखानामा पनि लगानीको आवश्यकता रहेको तर्फ लगानीकर्ताहरुको ध्यानाकर्षण गराए ।
मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरमा सडक पुर्वाधारको विकास, सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थल, जडीवुटी प्रशोधन उद्योग, औषधि उत्पादन उद्योग, रत्नपत्थर तथा मार्वल उद्योग, सिमेण्ट उद्योगका क्षेत्रमा पनि लगानी आवश्यक भएको वताए ।
प्रदेश सरकारको ‘प्रदेशको समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को सोच कार्यान्वयनका लागि आगामी पौषमा लगानी सम्मेलन गर्न लागेको वताउदै मुख्यमन्त्री शाहीले कर्णाली लगानीकर्ताको उपयुक्त गन्तव्य भएको वताए ।


दर्शन खबर । २१ भाद्र २०७६, शनिबार