कर्णाली सभामुखको निर्वाचन भोलि : गुरुङ र पोखरेल भिड्दै

सुर्खेत । कर्णाली प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका खड्ग पोखरेल र नेकपा एमालेकी नन्दा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको थियो । सोही अनुसार सभामुखमा गुरुङले दिउँसो ४ बजे आफ्नो उम्मेदवारी दर्ता गराएको प्रदेश सभा अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । यस्तै, नेपाली कांग्रेसका पोखरेलले पनि शनिबार प्रदेशसभामा पुगेर सभामुखको लागि उम्मेदवार दर्ता गराएका छन् । कांग्रेसका सुर्खेत जिल्ला सभापति समेत रहेका पोखरेलले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी गुरुङको प्रस्तावकमा सुर्खेत निर्वाचन क्षेत्र २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित यामलाल कँडेल रहेका छन्, भने सर्मथकमा मुख्यमन्त्रीे राजकुमार शर्मा रहेका छन् । यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एक ‘क’ बाट निर्वाचित भएका नेपाली काँग्रेस सुर्खेतका सभापति पोखरेलको प्रस्तावकमा दैलेख निर्वाचन क्षेत्र नम्बर एक ‘क’ बाट निर्वाचित पूर्ण बहादुर खत्री रहेका छन् भने सर्मथकमा कालिकोटकी सांसद विजया बुढा रहेकी छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक÷एक जना सांसद छन् । जसमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी गुरुङ्गको जित निश्चित देखिएको छ । गुरुङको पक्षमा माओवादी केन्द्रका १३, नेकपा एमालको, १० नेकपा एकीकृत समाजवादी, राप्रपाका एक एक गरी २५ जना सांसद छन् ।

यता पोखरेलको पक्षमा भने नेपाली काग्रेसका १४ र एक स्वतन्त्र गरी १५ सांसद रहेका छन् ।  कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् भने गुरुङ सुर्खेतबाट समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । सभामुखको निर्वाचन ज्येष्ठ सदस्य विनोद कुमार शाहले यस अघि नै तोकिसकेका छन् । मतदान आइतबार बिहान ११ बजे शुरु हुनेछ । त्यसअघि आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्तासम्बन्धी समय तोकिएको छ भने साढे १० बजे अन्तिम नामावली प्रकाशन र ११ बजे सभाको बैठक प्रारम्भ हुनेछ । त्यसपछि मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सत्तारुढ दलको भागबण्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।


तपाईको प्रतिक्रिया