कर्णालीको सभामुखमा कांग्रेसका पोखरेल र एमालेकी गुरुङद्वारा उम्मेदवारी दर्ता

सुर्खेत। कर्णाली प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका खड्ग पोखरेल र नेकपा एमालेका नन्दा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको थियो । सोही अनुसार सभामुखमा गुरुङले दिउँसो ४ बजे आफ्नो उम्मेदवारी दर्ता गराएको प्रदेश सभा अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । उनी सुर्खेतबाट समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । यस्तै, नेपाली कांग्रेसका पोखरेलले शनिबार प्रदेशसभामा पुगेर सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका सुर्खेत जिल्ला सभापति रहेका पोखरेलले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् ।

सभामुखको निर्वाचन ज्येष्ठ सदस्य विनोद कुमार शाहले यस अघि नै तोकिसकेका छन् । मतदान आइतबार बिहान ११ बजे शुरु हुनेछ । त्यसअघि आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्तासम्बन्धी समय तोकिएको छ भने साढे १० बजे अन्तिम नामावली प्रकाशन र ११ बजे सभाको बैठक प्रारम्भ हुनेछ । त्यसपछि मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सत्तारुढ दलको भागबण्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।

 


तपाईको प्रतिक्रिया