विनोद घिमिरे सुर्खेत । जिल्लामा ७४ हजार बढीले स्वास्थ्य विमा गरेका छन् । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा हालसम्म ७४ हजार ४ सय ९७ जनाले स्वास्थ्य विमा गरेका हुन । जिल्लामा ९९ दर्ता सहयोगी परिचालित छन् । जिल्लामा नौ वटा पालिका मध्ये सबैभन्दा बढि वीरेन्द्रनगर नगरपालिकाका नागरिकले स्वास्थ्य वीमा गरेका छन् । सबैभन्दा कम चौकुने गाउँपालिकाका नागरिकले स्वास्थ्य वीमा गरेको स्वास्थ्य वीमा कार्यालय सुर्खेतकी संयोजक आरती चालिसे आर्चायले बताईन ।चालिसेले दिएको जानकारी अनुसार वीरेन्द्रनगर नगरपालिकामा ३४ हजार १ सय ९१ जना नागरिकले वीमा गरेका छन भने चौकुने गाउँपालिकामा १ हजार ७ सय ४९ जना नागरिकले स्वास्थ्य वीमा गरेका छन् ।
त्यस्तै भेरीगंगा नगरपालिकामा ८ हजार ४ सय ५ जना, गुर्भाकोट नगरपालिकामा ८ हजार ७ सय ४३ जना, लेकबेशी नगरपालिकामा ७ हजार ३२ जना, पञ्चपुरी नगरपालिकामा ६ हजार ८ सय ४६ जना, बराहताल गाउँपालिकामा ३ हजार ३ सय ३७ जना, सिम्ता गाउँपालिकामा २ हजार १ सय १५ जना र चिंगाड गाउँपालिकामा २ हजार ७९ जना नागरिकले स्वास्थ्य वीमा गराएका छन् । स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जना सम्मको परिवारले वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रति सदस्य ७ सयका दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था रहेको छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाख सम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा एक लाख पचास हजार सम्मको सेवा पाइने प्रावधान छ ।


दर्शन खबर । २४ पुष २०७९, आईतवार