उपकरण अभावमा प्रदेश अस्पताल, सेवा दिन अझै ५ महिना लाग्ने

पंख बहादुर शाही, सुर्खेत ।
साढे दुई बिघा क्षेत्रफलमा नयाँ भवन निर्माण सम्पन्न भएको प्रदेश अस्पतालले नयाँ भवनबाट सेवा प्रवाह गर्न अझै ५ महिना लाग्ने भएको छ । सुर्खेतको कालागाउँ स्थित अस्पतालले नयाँ भवनको निर्माण कार्य सकिएपनि वेडहरु, अप्रेशन सम्बन्धी सामग्री लगाएत उपकरणहरु उपलब्ध नभएकाले अझै पाँच महिना समय लाग्ने भएको हो । ३ सय शैया विस्तार गरी थप गुणस्तरिय सेवा प्रवाहमा अस्पताल अघि बढेको छ । यसअघि ५० शैया मात्र थियो । अस्पताल श्रोतले छिटो आवश्यक उपकरणहरु उपलब्ध बनाइदिन आग्रह गरेको छ । अस्पतालमा अहिले २७ जना डाक्टरहरु रहेको अस्पतालमा उपकरण अभावका कारण नयाँ भवनबाट काम शुरु गर्न नसकिएको सुचना अधिकारी तथा मेडिकल रेकर्डर विनोद बस्नेतले बताउनुभयो । उहाका अनुसार प्रदेश अस्पतालमा अहिले ७-८ जनाको दरबन्दी र बाँकी करारमा रहेका कर्मचारीहरुले सेवा दिइरहेका छन् । उहाँले भौतिक पूर्वाधारको विकास, उपकरण र जनशक्तिको व्यवस्थापनमा अस्पताल जुटेका कारण अस्पतालको पुरानो परिचय बदलिएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयद्वारा गठित विज्ञ टोलीले ओएनेम रिर्पोट अध्ययन गरेको थियो । ३ सय शैयाको अस्पतालमा पाँच सय कर्मचारी रहने प्रस्ताव गरिएको थियो । २०७६ माघ १८ गते निर्माण सक्ने गरी आशिष एण्ड कन्टेक जेभीले २०७३ माघमा ठेक्का लिएको थियो । निर्धा्रित समयभन्दा ६ महीना अगावै भवन निर्माण गरेर शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतलाई हस्तान्तरण गरिसकेको छ । तर आवश्यक उपकरण र सबै दरबन्दी नहुदा नयाँ भवनबाट सेवा दिन ढिलाई भएको हो । अस्पतालमा दरबन्दी अनुसारको डाक्टहरु नभएको र कर्णालीमा बिषेशज्ञ चिकित्सकहरु आउन नरुचाउने गरेको बस्नेतको भनाई छ । उहाँले कर्णालीमा बिशेषज्ञ डाक्टरहरु आउन नमान्ने हुदा उचित तलव अन्य शुविधाको राम्रो व्यवस्था गरिनुपर्ने बताउनुभयो । कर्णाली प्रदेश सरकारले अस्पतालको विकासमा गत आर्थिक बर्ष २०७५र०७६ मा ४० करोड अस्पताललाई दिएपनि अस्पतालले खर्च गर्न नसकेको सामाजिक विकास मन्त्रालयका उपसचिव बिष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले यो बर्ष २० करोड बजेट विनियोजन गरेको बताउनुभयो । संघीय सरकारले विनियोजित गरेको ७३ करोड रकममा नयाँ भवन निर्माण भएको अस्पताल श्रोतले जनाएको छ ।


तपाईको प्रतिक्रिया