सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा उपचार गर्न पुगेका वीरेन्द्रनगर नगरपालिका–४ का ३५ बर्षीय उदय सुनार र बराहताल गाउँपालिका–१ हरिहरपुरकी १२ बर्षीया एलिना पुलामीलाई डेंगीको संक्रमण फेला परेको हो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत तथा महामारी रोग नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यकाअनुसार सुनार र पुलामी अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । उनीहरुले औषधी सेवन गरिरहेको उनले जानकारी दिए ।
यस्तै वीरेन्द्रनगर–६ का ३५ बर्षीय जयकिसन विकलाई पनि डेंगीको संक्रमण भेटिएको छ। अधिकृत आचार्यका अनुसार उनको अहिले वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भईरहेको छ ।
एलिना र जयकिसनलाई भएको डेंगी नयाँ भएपनि उदय सुनारलाई भएको यो संक्रमण अलि पुरानो भएको आचार्यले जानकारी दिए। उनी यसअघि भारत गएर फर्किएका थिए ।
भारत हुँदा नै उनीमा संक्रमण भएको देखिएको आचार्यले बताए । करिब ५ वर्षअघि पूर्वी सुर्खेतमा एकजनाको डेंगीका कारण मृत्यु भएको थियो ।



दर्शन खबर । २० भाद्र २०७६, शुक्रबार