बाबियाचौरमा पुग्यो प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

सुर्खेत । जिल्लाको पश्चिममा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका अनुसार करीब १५ किलोमिटरको दुरीमा रहेको कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरसम्म ३३ केभिएको प्रसारण लाइनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकाले विद्युतको परीक्षण गरिएको हो । पश्चिमको बाबियाचौर सम्म केन्द्रीय प्रसारण लाइनको पोल गाडने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडान गर्ने लगायतका सबै तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावतले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले पञ्चपुरी नगरपालिका वडा नं १०, ११ र वावियाचौरका लागि ४ ठाउँमा ३३/३३ केभिएको ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले वडा नं १० का भरीपुल नजिकै जडान गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युराज रावतले जानकारी दिए । उनका अनुसार भेरीपुलमा राखेको ट्रान्सफर्मरबाट वडा नम्बर १० का करीव २ सय ५० घरमा विद्युत् प्रवाह आकलन गरिएको छ । यसैगरी वडा नम्बर ११ मा राखेको ट्रान्सफर्मरबाट पनि करीब २ सय घरधुरीमा विद्युत् प्रवाह हुनेछ । पश्चिमममा पहिले जडान गरेका पोल र तारबाट विद्युत् विस्तार गर्ने गरी काम भइरहेकोे छ भने पोल, तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ । अबदेखि कैलालीको सोल्टादेखि सुर्खेत पश्चिमको बाबियाचौरमासम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र आफ्ना बालबालिका तथा पशुचौपायालाई जथाभावी नछोड्न पनि प्राधिकरणले सबैमा आग्रह गरेको छ । बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको विद्युतको सफल परीक्षण गरिएको भए पनि घरघरमा बत्ती बाल्न भने अझै केही दिन कुर्नुपर्ने देखिएको छ । विद्युतको सफल परीक्षण गरिएको भए पनि सबै प्रक्रिया अझै नपुगेकाले घरघरमा बत्ती बाल्न अझै केही दिन लाग्ने प्राधिकरणले प्रमुख रावतले जानकारी दिए ।


तपाईको प्रतिक्रिया