पृथ्वी जयन्तीका दिनमा सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को माग बमोजिम पुस २७ गते सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार भएको छ।
बिहीबार तयार पारिएको सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदामा यो विषय समेटिएको छ ।
‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ ।
कार्यदलले तयार पारेको शनिबार शीर्षस्थ नेताहरूसमक्ष पेस गरिने छ। शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए ।
सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागी भने छैन । उसले सरकारमा सहभागिताका लागि राखेका शर्तहरूमा पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने विषय पनि थियो ।
राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ ।


तपाईको प्रतिक्रिया