
सुर्खेत । ट्राफिक प्रहरीले सुरु गरेको ‘चालकसँग एक मिनेट’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । विगत केही वर्ष अघिदेखि सुरु भएको कार्यक्रम विचमा राकिएपनि दशै यता पुनः सुरु भएपछी ‘चालकसँग एक मिनेट’ कार्यक्रम प्रभाकारी बन्दै गएको हो । कर्णाली प्रदेशका १० वटा जिल्लामा एकै पटक सुरु भएको कार्यक्रमलाई पछिल्लो समय सुर्खेत ट्राफिकले तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ । २०७९ साउनदेखि पुस २० गतेसम्म सम्म सुर्खेतमा १ सय २१ पटक उक्त कार्यक्रम गरीएको छ । कार्यक्रम अन्तरगत चालक र यात्रु गरी करीब ६ हजार ९ सय ५४ जना लाभाम्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवल्दार निम बहादुर शाहीले बताए । सवारीचालक र सडक प्रयोगकर्तालाई सडकमा नै रोकेर एक मिनेटमा दिइने ट्राफिक नियमसँग सम्बन्धित सचेतनामूलक जानकारीलाई चालकसँग एक मिनेट कार्यक्रमका रुपमा सुर्खेत ट्राफिकले सञ्चालन गर्दै आइरहेको छ । यस कार्यक्रम अन्तरगत सडकमा खटिएका ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छ अनि सवारी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ ।
त्यसपछि सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तीब्र गतीमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन्छन र तपाईको यात्रा सुरक्षित रहोस्, भनि १ मिनेट भित्र बिदा गर्छन । नागरीक तथा यात्रुकोे सहजताका लागि एक मिनेटमा कार्यक्रममा टिकटमा भए अनुसारको सिट पाउनु भएको छ की छैन आरक्षण भएको सिट सदुपयोग गर्न पाउनुभएको छ की छैन, तोकिए बमोजिमको भाडा तिर्नु भएको छ ? वा बढी रु चालक सहचालकले तपाईसँग कुनै नराम्रो व्यवहार गरेको छ की छैन ? चालकको सेवा प्रभाव कस्तो छ ? यी यावत कुरा एक मिनेटमा सोधेर यात्रुलाई तपाईको यात्रा शुभ रहोस भन्ने तवरले यो कार्यक्रम सञ्चालन गरिएको प्रहरी हवल्दार शाहीले बताए । सुर्खेतमा १३ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने सम्भावनालाई ध्यानदिँदै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि उक्त कार्यक्रम प्रभावकारी बनेको हो ।





दर्शन खबर । २२ पुष २०७९, शुक्रबार