जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सुत्केरी र गर्भवती महिलाहरूलाई पोषणयुक्त सामग्री वितरण गरीएको छ । शिवालय गाउँपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थामा आवद्द भएका २० जना सुत्केरी र गर्भवती महिलाहरुलाई पौष्टिकयुक्त सामग्री वितरण गरेको हो । बालवालिकाहरुलाई कुपोषणबाट बचाउन साथै स्वास्थ्य संस्थामा सुत्केरीको महिलाको दर बढाउनलाई पोषण सामग्री वितरण गरिएको शिवालय गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तरर्गत २ लाख रकम मध्ये १ लाखबाट पौष्टिकयुक्त सामग्री बितरण गरेको शिवालय स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले जानकारी दिए ।
शाखाले सुत्केरी र गर्भवती महिलाहरुलाई पछ्यौरी, एक क्यारेट अण्डा, बच्चालाई न्यानो कपडा, एक पोका नुन, एक पोका तेल र नगद चार सय रुपैया बितरण गरेको शिवालय स्वास्थ्य शाखाका अहेव कमल बुढाले बताए । कार्यक्रमको प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष गिता शाही, विशिष्ट अतिथि शिवालय गाउँपालिकाका छैटौँ अधिकृत प्रमोद न्यौपाने, विभिन्न स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी लगायतले सहभागीलाई पोषण सामग्री बितरण गरेका हुन् । गाँउपालिकामा बाँकी रहेका सुत्केरी र गर्भवती महिलाहरुलाई उक्त सामाग्री वितरण गरीने शाखाले जनाएको छ । हाल स्वास्थ्य शाखाले आमाले आफ्नो र सन्तानको ख्याल गर्ने, पोषणयुक्त खाना सन्तुलन मिलाएर खान आग्रह गर्दै आएको छ ।



दर्शन खबर । २२ पुष २०७९, शुक्रबार