केपीएलमा आर्मी सेमिफाइनलमा, एपीएफ र महेन्द्रनगरको खेल भोली

सुर्खेत, १७ बैशाख
सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलमा विभागीय टोली आर्मी क्लब पनि सेमीफाईनलमा प्रवेस गरेको छ ।
आज भएको समूह एको अन्तिम खेलमा आर्मीले मध्य–पश्चिम क्रिकेट क्लब बाँकेलाई १०७ रनको फराकिलो अन्तरले हराउँदै समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।
१७९ रनको लक्ष्य पाएको मध्य–पश्चिम क्रिकेट क्लब १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७१ रन मै समेटियो ।
मध्य–पश्चिम क्रिकेट क्लबका प्रनित थापामा मगरले सर्वाधिक १९ रन बनाउँदा तुल्सीराम अहिमले १२ तथा मनोज सुनार र आकाश बिष्टले समान १० रन बनाउनु भयो ।
मध्य–पश्चिमलाई सस्तैमा समेट्नेक्रममा आर्मीकालागि कुशल मल्लले चार ओभरमा १४ रन दिएर ४ विकेट लिनुभयो सुसन भारी र सहाब आलमले दुई दुई विकेट हात पार्नुभयो ।
टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको हो ।
आर्मीकालागि राजेश पुलामी मगरले ५७ र हरि चौहानले ५३ रनको अर्धशतकिय पारी खेल्दा कप्तान बिनोद भन्डारीले २२ रन जोड्नु भयो । मध्यपश्चिमका अमित तामाङले दुइ र भरत थापाले एक विकेट लिनुभयो ।
यो समूहबाट लगातार तीन जित सहित घरेलु टोली कर्णाली एघार विजेता बन्दै सेमीफाईन प्रवेस गरेको छ ।
यस्तै समूह बी को न्यु होराइजन बुटवलले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा न्यु होराइजन बुटवलले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा संभावना बलियो बनाएको छ । निश्चल चौधरीले अर्धशतकिय पारीसंगै न्यु होराइजनले ९३ रनको लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर भेटायो ।
चौधरीले विस्फोटक पारी खेल्दै २९ बलमा ४ छक्का र ३ चौका सहित अविजित ५० रन बनाउनु भयो ।
हिमालयन क्रिकेट एकेडेमीका पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिएपनि टोलीको हार टार्न सक्नुभएन । टस जितेर ब्याटिङ गरेको हिमालय एकेडमिले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको हो ।
हिमालयका दिपेन्द्र ऐरीले सर्वाधिक २५ तथा शरद खड्काले १५, भरत भन्डारीले १३ र केशव सावदले १० रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन ।
हिमालयलाई सस्तैमा समेट्ने क्रममा न्यु होराइजन बुटवलका अर्जुन रायमाझी तीन तथा कप्तान शक्ति गौचन र गोबिन्द्र खत्रीले दुई दुई विकेट लिनुभयो ।
जितसंगै न्यु होराइजनले ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोडेको छ भने महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक छ ।
यस्तै यहि समूहमा रहेको विभागिय टोली एपीएफले दुई खेलमा शतप्रतिशत नतिजा सहित चार अंक हात पारेको छ ।
भोलि हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले यो समुहबाट सेमीफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया