
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले नेपाल धर्म निरपेक्ष देश भएको कारण सवै धर्मलाई समान दृष्टीकोण राख्नुपर्ने बताएका छन् । ईसाइ समाज सुर्खेतले आईतवार वीरेन्द्रनगर ६ घण्टाघरचोकमा आयोजनामा गरेको ख्रीष्टमस तथा नयाँ वर्ष २०२३ को शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
समाज रुपान्तरणका लागि सवैले सवैको सम्मान गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहीले उल्लेख गर्दै क्रिसमसको दिन सार्वजनिक विदा दिने चलन केन्द्रसँग पहल गरी आफुले ल्याएको दावी गरेका छन् । उनले नेपाली दाजुभाई तथा दिदिबहिनीहरु नेपाली भुमिमा जन्मिएपछि सबै धर्म तथा धार्मिक स्थलहरुलाई सम्मान गर्नुपर्ने बताए । मुख्यमन्त्री शाहीले कार्यक्रममा उपस्थित भएका सहभागिहरुलाई नयाँ वर्ष २०२३ को शुभकामना पनि व्यक्त गरेका थिए । कार्यक्रमका सभाअध्यक्ष तथा ईसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेले हाल सुर्खेत जिल्लामा २ सय ११ वटा र कर्णाली प्रदेशमा मात्रै ६ सय जति चर्च रहेको बताए । उनले देशमा गणतन्त्र आईसक्दा पनि क्रिसमस समुदायले स्वतन्त्र अभ्यास तथा संविधानमा दिएको अधिकार आफुहरुमा लागु हुन नसकेको गुनासोे गरे । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले केक काटेर उद्धघाटन गरेका थिए । कार्यक्रममा विभिन्न सन्देशमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रममा झन्डै २ हजार वढि सहभागिको उपस्थिति रहेको थियो ।


दर्शन खबर । १७ पुष २०७९, आईतवार