कुलेन्द्र शाही जाजरकोट । जाजरकोटको एक विद्यालयको गेटमा विद्यालयका प्रधानध्यापक र व्यवस्थापन समितिका अध्यक्षको नाम लेखिएको छ । जिल्लाको शिवालय गाउँपालिकाको ५ र ६ को केन्द्र थालारैकरमा रहेको श्री ईन्द्र ज्योति माध्यमिक विद्यालयको गेटमा प्रअ निम खत्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार शाहीको नाम लेखिएको छ । विद्यालयको नाम लेखिनु पर्ने गेटमा प्रअ र विव्यसको नाम लेखिदा अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको छ ।
सोही विद्यालय व्यवस्थापन समितिका सदस्य दिपेन्द्र थापा मगरले शुक्रवार फेसबुक गेटको फोटा हाल्दै लेखेका छन् , ‘श्री इन्द्र ज्योति माविको गेटमा व्यक्तिगत नाम राख्न मलाई त्यति उचित लागेन, त्यो पनि सार्वजनिक विद्यालयको सम्पतिबाट बनेको गेटमा, आफ्नै व्यक्तिगत सहयोग हो भने मलाई ठिक छ, नत्र अहिले नै व्यक्तिगत नाम हटाएर विद्यालयको नाम राखियोस् मेरा सल्लाह, यदि उहाँहरुको आफ्नै लगानीमा हो भने गेटमा हाईन, तामापत्रमा नाम लेखिदिउला तर सार्वजनिक सम्पतिमा लेखेको व्यक्तिको नाम तुरुन्तै हटाईयोस्’
यस्तै शिवालय गाउँपालिका ७ का सन्देश बुढा क्षेत्रीले लेखेका छन्, ‘श्री इन्द्र ज्योति माविको गेटमा प्रअ र विव्यसको नाम लेखिए छ, अव फोटा पनि राख्नुपर्छ हार्दिक शुभकामना’
यस्तै शिवालय ६ का प्रकाश शाहीले पनि सामाजिक सञ्जाल फेसबुकमा गेटको फोटा हाल्दै लेखेका छन्, ‘ श्री इन्द्र ज्योति माविको गेटमा व्यक्तिगत नाम राख्नुको कारण के होला ? भनि प्रश्न सोधेका छन्, उनले फेरी थपेका छन् , व्यक्तिगत नाम हटाएर विद्यालयको नाम राखियोस्, सार्वजनिक जस्तो चिजलाई व्यक्तिगत निर्णय प्रयोग नगर्न शिक्षित व्यक्तिहरुमा आग्रह’
यस विषयमा विव्यस अध्यक्ष शाहीले गेटमा व्यक्तिगत नाम लेख्नु राम्रो भएको बताएका छन् । विद्यालयको गेटमा प्रअ र विव्यसको नाम लेखिनु कुनै ठुलो कुरा नभएको शाहीले दावी गरे । शाहीले भने ‘विद्यालयको गेटमा प्रअ र विव्यसको नाम लेख्नु ठुलो कुरा होईन, यो धेरै राम्रो हो, राम्रो कुरालाई नराम्रो बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको हो ।’ उनले यदि यो कुरा नराम्रो भए तुरुन्तै हटाउने पनि जानकारी दिए ।
यता विद्यालयका प्रअ निम बहादुर खत्रीले यो बारे आफुले कुनै पनि थाहा नदिएर नाम राखिएको बताए । प्रअ खत्रीले विद्यालयको गेटमा व्यक्तिगत नाम राख्नु उचित नभएको जानकारी दिए । प्रअ र अध्यक्षको नाम गरेको गेट विहिवार मात्रै राखिएको हो । अहिले उक्त विद्यालयमा बाल शिक्षादेखि कक्षा १२ सम्म पढाई हुने गर्दछ । जसमा करिव पाँच सय वढि विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको स्थापना २०१२ सालमा भएको हो ।


दर्शन खबर । १५ पुष २०७९, शुक्रबार