सुर्खेत । देशैभर हर्षउल्लास गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार मनाईरहँदा आज (शुक्रवार) सुर्खेतको वीरेन्दनगर नगरपालिका ५ चिसापानीमा पनि भव्यताको साथ यो पर्व मनाईएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति सुर्खेतको आयोजनामा गुरुङ समुदायका मानिसहरुले ल्होसारको अवसर पारेर बिहानदेखि नै ढोग-भेट, नाचगान आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर थिए । ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रममा गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषामा शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिएका थिए भने पुरुषहरुले शिरमा टोपी, भोटोमाथि भाङग्रो लगाएर चिटिक्क परेर आएका थिए ।
त्यसको साथमा कछाड अनि पटुकी बाँधेका थिए । एकआसपमा शुभकामना साटासाट गरेर मिठा मिठा खानेकुरा सेलरोटी तथा फलफुल खाएका छन् । कार्यक्रमका प्रमुख अतिथी एवम् कर्णाली प्रदेशका सभा सदस्य दुर्गा तमृस्र्याले नेपालमा रहेका बिभिन्न जातजातिको कलासंस्कृति जर्गेना गर्न सहयोग तथा प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आफ्नो कलासंस्कृतिलाई बचाईरहन नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने उनको भनाई थियो । तमु ल्होसार गुरुङ जातिहरुको महान् चाडका साथै गुरुङहरुको नयाँ वर्ष पनि हो । जसमा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँने प्रचलन छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । स्थानीय रमेश गुरुङका अनुसार साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको संकेत गर्दछ । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाएकाहुन् । सरकारले तमु ल्होसारको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएका थियो ।
तस्विरहरु






दर्शन खबर । १५ पुष २०७९, शुक्रबार