सुर्खेत । परिलक्षित संस्थाद्वारा सुर्खेत वीरेन्द्रनगरका विभिन्न विद्यालयको अनुगमन तथा मुल्याङ्कन गरिएकाे छ । आईतवार जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीमा रहेको श्री त्रिपुरेश्वर माध्यमिक विद्यालय र वीरेन्द्रनगर नगरपालिका १० मा रहेको सिद्ध बहिरा स्कुलको अनुगमन तथा मुल्याकंन गरीएको हो । संस्थाले वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालको संयोजकत्वमा अनुगमन तथा मुल्याकंन गरेको हो । अनुगमन टोलीले विद्यालयमा अनुगमन गर्दा शौचालयको राम्रो व्यवस्था नभएको, सरसफाईमा कमीका साथै खेलकुद मैदान, विद्यार्थी लाईन लाग्ने ठाउँ नभएको जनाएको छ ।
विद्यालयमा अपाङ्गमैत्री शौचालय निमार्णमा ढिलाई भएको अनुगमन टोलीले जानकारी दिएको छ । सो क्रममा उपप्रमुख खनालले विद्यालय प्राङ्गणभित्र सरसफाई नभएको हुँदा विद्यालयले नियमित सरसफाई सुधार गर्नुपर्ने बताए । उपप्रमुख खनालले विद्यालयले सकेसम्म सबै पालिकाका नगर प्रमुख तथा उपप्रमुखसँग सहकार्य गरेर केही आर्थिक सहयोग माग्न आग्रह गरेका छन् । यस्तै वीरेन्द्रनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख सरला रेग्मीले समूहले अनुगमनका क्रममा देखेका समस्याहरूको पहिचान गरेर सम्बन्धित निकायमा पहल गरिने बताईन् । उनले आगामी दिनमा नगरपालिकासँग पहल गरी विद्यालयको लागि छट्टै बजेट छुट्याउने प्रतिवद्धता जनाईन् । अनुगमनका क्रममा वीरेन्द्रनगर नगरपालिका १ रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालयमा अपाङ्गमैत्री शौचालय निमार्णधिन अवस्थामा रहेको छ भने वडा नम्बर १० को सिद्ध बहिरा स्कुलको नयाँ भवनको काम अन्तिम चरण पुगेको देखिएको छ ।
यस्तै त्रिपुरेश्वर माविमा विद्यार्थीको लागि खेलकुद मैदानका साथै लाईन लाग्ने ठाउँ समेत नभएको अनुगमन टोलीले जानकारी दिएको छ । यस्तै सिद्ध बहिरा स्कुलका प्रधानाध्यापक चिन्तामनि कँडेलले आफ्नो विद्यालयमा शिक्षकहरुको जनशक्ति कम भएको बताउँदै नगरपालिकाले अहिले सम्म कुनै पनि सहयोग नगरेको गुनासो गरे । सो समस्यालाई नगरपालिकाले पहल गर्नु पर्नेमा उनको जोड रहेको छ । अहिले उक्त विद्यालयमा ११ जिल्लाका ९६ जना विद्यार्थी रहेका छन् । उक्त विद्यालयलाई परिलक्षित संस्थाले फर्निचर, सांकितक भाषाको टे«निङ, ५ महिनाका लागि ३ लाख ३० हजार रुपैया सहयोगका साथै चिसो मौसममा न्यानो लागि सिरक डस्ना सहयोगको लागि समेत पहल भईसकेको परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिए ।
अनुगमनमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मी, अधिकृत छैटौ उमादेवि सिँह, सहायक पाँचौ निर्मला भट्टराई, परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछाने, परिलक्षित संस्थाकी सामाजिक परिचालक सरिता विक र सम्झना बुढा लगायतको सहभागिता रहेको थियो ।



दर्शन खबर । ३ पुष २०७९, आईतवार