मुगु । जिल्ला अस्पताल मुगुलाई १५ शय्याबाट ५० शय्याको बनाउन मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष ज्ञापनप्रत्र पेस गरिएको छ । जिल्ला अस्पताल मुगुमा मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले मुख्यमन्त्री शाहीलाई अस्पतालको स्तरवृद्धि १५ शय्याबाट ५० शय्या बनाउन पहलको लागि ज्ञापनपत्र बुझाएका हुन् । २०६३ सालबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवाबाट सुचारु भएको जिल्ला अस्पताल मुगु १५ शय्याको मान्यताका साथ सेवा प्रवाह भइरहेको छ ।
कोरियाली संस्था कोइएकाले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको र केही आवश्यक उपकरण पनि सहयोग गरेकाले जिल्ला अस्पताल १५ शय्याको मान्यता पाएको भए पनि हाल ५२ शय्यासम्म सञ्चालन गरेका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए । सुविधासम्पन्न अस्पताल भवन छ । दुई जिल्ला मुगु र हुम्लाका बिरामीको चाप जिल्ला अस्पतालमा हुने भएकाले कागजीरुपमा १५ शय्याको मात्र भएकाले ५० शय्याको लागि स्तरवृद्धि गर्न मुख्यमन्त्रीसँग पहल गर्न माग गरिएको अध्यक्ष मल्लले बताए ।


दर्शन खबर । १ पुष २०७९, शुक्रबार