
कुलेन्द्र शाही जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–५ मा वडा कार्यालयको भवन निमार्णले तिव्रता लिन नसकेको स्थानियले गुनासो गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेको करिब ७ महिना वितिसक्दा पनि वडा कार्यालयको भवन बन्न नसकेकोप्रति स्थानियहरुले आक्रोस व्यक्त गरेका हुन् । वडा भवनको लागि मनिराम शर्माले ३ रोपनी जग्गा दिए पनि त्यो जग्गामा वडा भवन बन्न नसकेको स्थानियहरुले बताएका छन् । गाउँपालिकाको १५ लाख बजेटमा गत चैतको महिनाको अन्तिममा वडा कार्यालय भवन निमार्णको शिलन्यास भएपनि ९ महिना बितिसक्दा समेत भवनको निमार्णको काम भने १० प्रतिशत पनि हुन सकेको छैन ।
भवन निमार्णको काम आगामी वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको भए पनि निमार्णको काम अहिलेसम्म १० प्रतिशत पनि नभएको वडा कार्यालयले जनाएको छ । हाल वडा कार्यालयको भवन सल्लेरी बहुउद्देश्य सहकारी संस्थाको भवनबाट भाडा तिरेर वडा संचालन रहेको छ । वडा कार्यालयले भवन निमार्णको लागि बारम्बार ताकेता गरे पनि निमार्णको कामले भने तिव्रता लिन सकेको छैन् । यता शिवालय गाउँपालिका ५ का वडा अध्यक्ष गापाले दमाईले भवन निमार्णमा ढिलाई भएको स्वीकार गरेका छन् । स्थानिय तहको निर्वाचन, वर्खा, दशै तिहार र प्रतिनिधि सभाको निर्वाचनले भवन निमार्णमा केही समस्या पारेको बताए ।
वडाले निमार्ण समितिलाई बारम्बार ताकेता गरे पनि निमार्ण समितिले कुनै वास्ता नगरेको अध्यक्ष दमाईले जानकारी दिए । वर्खामा परेको पानीले सडकमा पहिरो गएको हुँदा सडक मर्मतको काम अन्तिममा पुगेको र पालिकामा गएर सम्झौताको काम भईरहेको अध्यक्ष दमाईले जानकारी दिए । असार मसान्तसम्म भवन निर्माण सम्पन्न भएमा आर्थिक वर्षको सुरुदेखि नै नयाँ वडा भवनबाट काम सुरु गर्ने अध्यक्ष दमाईको भनाई छ ।


दर्शन खबर । १ पुष २०७९, शुक्रबार