
सुर्खेत । लेकवेशी नगरपालिकाले किसानहरुलाई पालिकाबाटै किसान परिचय पत्र उपलब्ध गराउने भएको छ । सोमवार लेकवेशी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपालबीच किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि संझौता गरिएको छ ।
कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको व्यवस्था मिलाउन स्थानीय सरकारसँगको सहकार्यमा लेकवेशी नगरपालिका सुर्खेत भित्रका सबै घरधुरीको तथ्यांक संकलन, गरी किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको गर्ने तयारी भएको नगर प्रमुख गमेश कुमार पौडेलले जानकारी दिए । माघ महिना सम्म ३ देखी ४ वर्गमा किसानको बर्गीकरण गर्नका लागि १० वटै वडाहरुमा गणकको समेत व्यवस्थापन भईसकेकको पौडेले जानकारी दिए । किसानको तत्थ्यांक संकलन र वर्गिकरण पश्चात अनुदान देखी सम्पुर्ण कुरामा सहज हुने पौडेलले जानकारी दिए ।
भिएसओ नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रकृया सहजिकरण गर्ने छ । नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रभुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषिनितीमा उल्लेखित निति अनुसार किसान परिचयपत्र उपलब्ध गराउने साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचय पत्रको आधारमा व्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उदेश्यले लेकवेशी नगरपालिकाले किसान परिचय पत्र वितरण अभ्यास शुरु गरिएको हो ।
लेकवेशी नगरपालिकाको नगरसभाले स्थानीय कृषि ऐन, २०७८ पास भईसकेको नगर प्रमुख पौडेलले जानकारी दिए ।
नेपालको संविधानले किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य श्रृखलामा सुशासन कायम गर्न कृषि प्रणालीलाई दिगो साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसँग मिलेर महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको हो ।
किसान परिचय पत्रको आधारमा किसानलाई सेवा सुविधा र सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि परिचयपत्रले तहगत सरकारलाई सहयोग गर्ने अपेक्षा लिईएको छ ।


दर्शन खबर । २७ मंसिर २०७९, मंगलवार