जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार अपराह्न साँढे ४ बजे छेडागाड नगरपालिका–५ स्थित खातिजेवाबाट वडा नम्बर ४ मा र जाँदै गरेको कर्णाली प्रदेश ०२०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट जाजरकोटबाट प्रहरी उपरीक्षक सन्तोष निरौलाको को कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृत्यु हुनेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका– २ का जिप चालक मानबहादुर रावत, दैलेख भगवतीमाई गाउँपालिका ३ का अम्मर बहादुर खड्का सोही ठाउँका सुरेन्द्र केसी, जाजरकोट छेडागाड नगरपालिका–६ का अम्मर बहादुर खड्का, सोही ठाउँका वीर बहादुर खत्री, राम बहादुर बुढा, जाजरकोट छेडागाड नगरपालिका ५ का जयकुमार बुढा,सोही ठाउँका दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी र जाजरकोट छेडागाड नगरपालिकाकी निशा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । घाईते छेडागाड २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएकोे छ । जिप आफैँ अनियन्त्रित भएर सडक भन्दा अन्दाजी २५० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया