सुर्खेत । प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिकको अन्तिम मत परिणाम घोषणा नहुँदै मन्त्री पदको लागि कति नेताहरु निर्वाचन क्षेत्र छोडेर संघिय राजधानी काठमाण्डौमा गएका छन् भने कोही नेता धन्यवाद र सम्मान कार्यक्रममा व्यस्त भएका छन् । कर्णालीमा विशेष त आफ्नो निर्वाचन क्षेत्र छोडेर शीर्ष नेतालाई भेट्न काठमाण्डौ जानेको लर्काे लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु भएको छ । कर्णालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार बनाउन जोड गरीरहेका छन्.। कांग्रेस ठूलो दल भएपछि उसले आफ्नो नेतृत्वमा सरकार दाबी गर्ने चर्चा चलिरहेको छ । उसो त सत्ता गठबन्धनको अर्को मुख्य हिस्सा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि काठमाडौँमा नेताहरुको भेटघाट तीब्र बनाएको छ ।
केही दिन अगाडी मात्रै नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले नेपाली कांग्रेसका सभापति एव्म प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त सीके राउतबीच उपसभापति खड्काले भेटवार्ता गरेका छन् । यस्तै माओवादी कर्णालीकी अध्यक्ष विमला केसी समेत काठमाडौँ पुगिसकेकी छन् । कर्णालीमा मुख्यमन्त्री सहित आठ मन्त्रालय रहेका छन् । कर्णालीमा मुख्यमन्त्रीमा तीनै दलबाट दुई दुई जनाको दाबी रहेको छ । जसमा कांग्रेसबाट फेरि पनि जीवनबहादुर शाही नै मुख्यमन्त्री बन्नुपर्ने केही कांग्रेसका नेताहरुको तर्क छ ।
कांग्रेसबाट नै राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा र विन्दमान विष्ट तथा एमालेबाट यामलाल कँडेल र विनोदकुमार शाह मुख्यमन्त्रीको दौडमा रहेको विश्लेषकहरू बताउँछन । समानुपातिक तर्फको सिटको घोषणा नभए पनि दलहरुले प्राप्त गरेको मतका आधारमा काँग्रेसका १४, माओवादीका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एसको एक एक सिट भागमा पर्नेछ । कांग्रेसका उपसभापति खड्काले जुनसुकै हालतमा पनि कांग्रेसले कर्णाली सरकारको पहिलो नेतृत्व गर्नुपर्ने अडानका साथ प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको र सोही अनुसार तयार हुन जानकारी दिएको कांग्रेस वृतमा छलफल चलिरहेको छ ।
उत्ता माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले कर्णालीमा सरकार गठनका विषयमा कुनै छलफल सुरु नभएको बताएका छन् । अर्थमन्त्री जर्नादन शर्माले रुकुम पश्चिमबाट आफ्ना नातेदार राजकुमार शर्मालाई मुख्यमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको माओवादीका एक नेताले जानकारी दिए । कांग्रेस र माओवादी दुई ठूला दलबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा शीर्ष नेतालाई प्रदेशका नेताहरुले दाबी पेश गरेका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच प्रदेश सरकार गठनका विषयमा केही छलफल समेत भएको स्रोतले बताएको छ ।


दर्शन खबर । १९ मंसिर २०७९, सोमबार