रवि लामिछानेलाई स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराउनुभएको हो । उहाँको उजुरीमा विदेशी नागरिक वा नेपाली नागरिक नभएको गैरनेपाली नागरिकले उम्मेदवार हुन, मतदान गर्न र राजनीतिक दल खोल्न कानुनले प्रतिबन्ध लगाएको दाबी गरिएको छ। ‘रवि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन् सो गम्भीर छन्। अनागरिक, गैरनागरिक वा विदेशी नागरिकका हातमा मुलुकको राजनैतिक सत्ता, मुलुकको कानुन बनाउने निकाय संसद् र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्वभौमसत्ता, राजनैतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ’, उजुरीमा भनिएको छ, ‘तसर्थ, यस विषयको गम्भीरता र कानुनको शासनको प्रत्याभूतिका लागि तत्कालै निर्णय होस् भनि सविनयताका साथ निवेदन पेस गर्दछु।’

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वतः समाप्त हुने व्यवस्था रहेकाले लामिछानेको नागरिकता पनि स्वतः खारेज भएको जिकिर गरिएको छ। यस्तो, अवस्थामा लामिछानेले अमेरिकी नागरिकता लिएपश्चात नेपालको नागरिकता कायम नरहेको हुँदा पुनः नेपालको नागरिकता प्राप्त नगरी नेपालको नागरिक हुन नसक्ने जिकिर निवेदनमा गरिएको छ।


तपाईको प्रतिक्रिया