गुणस्तरीय शिक्षाका लागि छलफल जारी छ, मन्त्री रावल

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गुणस्तरीय शिक्षा लागू गर्नका लागि कर्णाली प्रदेश सरकारले छलफल जारी राखेको बताउनु भएको छ ।
आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको ‘गुणस्तरीय शिक्षाका लागि, गुणस्तरीय शिक्षक उत्पादनमा शिक्षा संकायको भूमिका’ विषयमा सञ्चालित एकदिने बिचार गोष्ठी कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश सरकार पनि गुणस्तरीय शिक्षाका लागि नीति निर्माण बनाउनको लागि छलफल गरिरहेको बताउनु भएको हो ।
जनप्रतिनिधिहरुले शिक्षामा कुनै पनि योगदान गर्न नसकोकाले बेरोजगार युवा उत्पादन भएको उहाँले बताउनु भयो ।
निबार्चनको बेला बिभिन्न किसिमका आश्वासन देखाएर बेरोजगार उत्पादन गर्ने राजनितिक संस्कार भएको भन्दै मन्त्री रावलले यस्तो संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरि राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेशका प्रमुख जितबहादुर शाहले कर्णाली प्रदेशका विद्यार्थीको गुणस्तर बढाउनका लागि सबै लाग्नु पर्ने बताउनु भयो ।
विद्यार्थीको मनोभावनालाई बुझेर मात्र शिक्षा प्रदान गर्नु पर्ने बताउदै प्रमुख शाहले शिक्षकहरुले किताबी ज्ञानमात्र नभई बाहिरका ज्ञानका कुरालाई पनि खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।


तपाईको प्रतिक्रिया