
सुर्खेत । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भयो । निर्वाचन सम्पन्न भएसँगैै कर्णालीमा मुख्यमन्त्री को बन्छ त भने विषयमा आम नागरीकको चासो विषय बनेको छ । निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि मुख्यमन्त्रीको टुंगो लगाउनु पर्ने हुन्छ । तर यो पटक भने कर्णालीमा सहजै तरिकाले मुख्यमन्त्रीको टुंगा लाग्ने आँकलन भने गर्न सकिन्न । कर्णालीमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा अहिले विभिन्न चियापसल, होटेल, रेष्टुरेण्ट, सडक-बाटो, पानीपँधेरोमा समेत चर्चा र टिकाटिप्पणी सुनिदै आएको छ । कर्णाली प्रदेशमा सरकार गठनका लागि गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बहुमत छ । बहुमत भए पनि अहिले नै मुख्यमन्त्री नेपाली कांग्रेस वा माआवोदी नै हुन्छ भन्न सकिने भने अवस्था छैन् । कर्णालीमा मुख्यमन्त्रीमा तीनै दलबाट दुई-दुई जनाको दाबी रहेको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा र विन्दमान विष्ट तथा एमालेबाट यामलाल कँडेल र विनोदकुमार शाह मुख्यमन्त्रीको दौडमा रहेको विश्लेषकहरू बताउँछन् ।
सुर्खेतबाट क्षेत्र नम्बर २ (क) बाट यामलाल कँडेल
सुर्खेत क्षेत्र नम्बर २ क बाट निर्वाचित भएका नेकपा एमाले कर्णाली प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य यामलाल कँडेल चुनावी निर्वाचित भएका छन् । ०७४ मै मुख्यमन्त्री बन्ने अपेक्षासहित प्रदेशमा निर्वाचन लडेका उनलाई पुनः मुख्यमन्त्रीकै दाबेदारका रूपमा हेरिएको छ । कँडेल ३ दशकअघि ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा आफूसँगै प्रतिस्पर्धामा होमिएका कांग्रेसका कालिप्रसाद शाक्यलाई पराजित गरेका थिए भने यसपटकको निर्वाचनमा पनि कंडेलले शाक्यलाई १६१ मतान्तरले पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा नै मुख्यमन्त्री बन्ने प्रवल सम्भावना हुँदाहुदै पनि तत्कालिन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको अन्तरद्धन्दका कारण कंडेलको मुख्यमन्त्री बन्ने आकांक्षा पुरा हुन सकेन् । साथै यसपटक मुख्यमन्त्री बन्ने आकांक्षाले कडेल पुनः प्रदेश सभाको उम्मेदवार बनेका थिए र निर्वाचित पनि भएका छन् ।
सुर्खेत क्षेत्र नम्बर २ (ख) बाट विन्दमान विष्ट
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । माओवादीका विष्ट पनि मुख्यमन्त्रीका दाबेदार हुन् । प्रदेश सभा ख बाट दोस्रोपटक निर्वाचित उनी प्रदेश सरकारको पर्यटनमन्त्री र अर्थमन्त्री भइसकेका छन् । विष्ट मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका थिए । नेता विष्टले चुनावको दौडधुप कार्यक्रममा आफू भावी मुख्यमन्त्रीको दौडमा रहेको संकेत गरेका थिए । कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको हुँदा उनि मुख्यमन्त्री हुन्छन् कि भनेर आम नागरिकले आशंका गर्ने गरेका छन् ।
हुम्लाबाट बाहालवाला मुख्यमन्त्री जीवनबहादुर
कर्णालीका बाहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाको प्रदेशसभा ख बाट उम्मेदवार बनेर निर्वाचित भईसकेका छन् । तत्कालिन नेकपाको दुईतिहाइ बहुमत हुँदा समेत नेकपा विभाजनका कारण मुख्यमन्त्री बन्ने अवसर पाएका कांग्रेस नेता शाही यसपटक सत्ता गठबन्धनको बलमा निर्वाचन लडेका थिए । अहिले मुख्यमन्त्री हुँदै गर्दा बाँकी रहेका काम पूरा गर्न र चुनावपछि पनि सरकारको नेतृत्व गरेर प्रदेशमा स्थायीत्वको सन्देश दिन पनि उनी प्रदेशमा उम्मेदवार बनेका हुन् । उनी मुख्यमन्त्रीमा पुनः दोहोरीने दाउँमा रहेका छन् । उनी यसअघि हुम्ला जिल्ला विकास समितिको सभापति, पर्यटनमन्त्री र हुम्लाबाट तीनपटक सांसद भइसकेका छन् ।
जाजरकोटबाट राजिव विक्रम शाह
जाजरकोट प्रदेशसभा ख बाट निर्वाचित राजीवविक्रम शाह पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन । उनलाई पनि मुख्यमन्त्रीको दावेदारका रुपमा हेरीएको छ ।
दैलेखबाट विनोद कुमार शाह
दैलेख क्षेत्र नम्बर ख बाट भने एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भएका छन् । २०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका विनोद राजाको पालामा राज्यमन्त्री भएका थिए । अहिलेसम्म लाभको पदमा पुग्न नसकेका उनी गणतन्त्र स्थापनापछि पहिलो पटक निर्वाचित भएका हुन् । शाह नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष रहेका छन् ।
रुकुमबाट राजकुमार शर्मा
२०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा रुकुम पश्चिम ख बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार थिए । शर्माले १२ हजारको फराकिलो मतान्तरले जित हाँसिल गरेका छन । शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका व्यक्ति हुन् । शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन ।


दर्शन खबर । १८ मंसिर २०७९, आईतवार