काठमाण्डौ । नेकपा एमाले र नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले राजधानी सार्ने काम तत्काल रोकेर नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने उल्लेख गरेका छन् । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।
नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेको भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी सार्ने जिम्मा नयाँ संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ । प्रदेश सभाबाट दाङ्गको देखुुरी उपत्यका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय भएको भए पनि त्यहाँ भौतिक संरचना निमार्ण भइनसकेको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गरेको हो ।


दर्शन खबर । १८ मंसिर २०७९, आईतवार