कतिपय उम्मेदवार भवितव्यले विजयी भएको ओलीले निश्कर्ष

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा कतिपय उम्मेदवार जानेर,नजानेर वा भवितव्यले विजयी भएको निश्कर्ष निकाल्नुभएको छ । उहाँले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचनमा विजयी भएको प्रमाणपत्र बुझेपछि उक्त भनाइ व्यक्त गर्नुभएको हो । उहाँले सोही सन्दर्भमा राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गर्नुभएको छ । पछिल्लो निर्वाचन परिणामलाई लक्षित गर्दै उहाँले कतिपय मानिस र उम्मेदवारले राजनीतिलाई रमाइलोको रुपमा लिएकोले त्यसो नगर्न सुझाव दिनुभएको छ । तर,उहाँले कसले त्यस्तो गरे भन्नेबारे केही बताउनुभएको छैन ।‘मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल,भागबण्डाको खेल शुरु हुने छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ,’ उहाँको भनाइ छ ।

उहाँले मतदाताप्रति आशंका राख्नुभएको छ । ‘आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नुपर्ने थियो,त्यसो भएको देखिएन । यसपटक मतदाताले नबुझेको हो कि,हामीले बुझाउन नसकेका हौं । मतदाता सुध्रिनु पर्ने जस्तो लागेको छ,’ उहाँको भनाइ छ । अमूर्त भाषामा बोल्दै उहाँले निर्वाचन पाँच वर्षको लागि भएको तर यसको परिणाम दीर्घकालसम्म रहने बताउनुभएको छ । यसको अर्थ मतदाताले एमालेलाई बहुमत नदिएर गल्ती गरेको उहाँको आशय भएको अनुमान गरिएको छ । ‘मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल,भागबण्डाको खेल शुरु हुने छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ,’ उहाँको भनाइ छ । फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने भएकाले देश थप अस्थिरतातर्फ जाने अध्यक्ष ओलीको निश्कर्ष छ ।

तपाईको प्रतिक्रिया