
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको सूर्य चुनाव चिह्नबाट निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गरेका छन् । मतगणना नसकिँदै उनले सामाजिक सञ्जालमार्फत पराजयलाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिएका हुन् । उनले मत दिने सबैलाई आभार प्रकट गर्दै सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकामा एमालेलाई धन्यवाद पनि दिएका छन् । उनले पराजित भएपनि देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो।व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।’ उनले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको बताएका छन् ।


दर्शन खबर । ८ मंसिर २०७९, बिहीबार