सल्यानमा छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सल्यान । सल्यानको शारदा नगरपालिका लुहापिङस्थित त्रिभुवन जनमाध्यमिक विद्यालयको भवन निर्माणमा रकम अनियमितता गरेको आरोपमा छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बोलपत्र आह्वान नगरी तथा कानुनी प्रक्रिया नपुर्‍याई विद्यालय निर्माणका क्रममा रकम अनियमितता गरेको पाइएपछि अख्तियारले सोमा संलग्न कर्मचारी एवं पदाधिकारीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा बहुतल्ले भवन निर्माण अनुगमन समितिका सदस्य माधवविक्रम जिसी, शारदा नगरपालिकाका इन्जिनियर तुफानजी जङ्ग केसी, सब इन्जिनियर सरस्वती थापा, भवन निर्माण अनुगमन समितिका सदस्य तथा शारदा नगरपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष केशव सिंह श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यसैगरी सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बहुतल्ले भवन निर्माण अनुगमन समितिका अध्यक्ष नवराज शर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य तथा बहुतल्ले भवन निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई झुठा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी ८७ लाख तीन हजार ३१२ रुपियाँ सरकारलाई हानि नोक्सानी पु¥याउने बद्‍नियतसाथ काम गरेको देखिएकाले उक्त रकम बिगो कायम गरी हदैसम्मको सजाय मागदाबीसहित मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया