वृद्धाको हत्याको अभियोगमा एक जना पक्राउ

सुर्खेत। लेकवेशी नगरपालिका चौरासे स्थित तिल्केपानी बस्ने अन्दाजी ७२ वर्षिय डिल्लीसरा जैसीको हत्याको अभियोगमा मंगलवार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकवेशी नगरपालिका ९ का ३३ वर्षीय सालिकराम बास्तोला रहेका छन । घटनामा संलग्न रही फरार रहेका बास्तोलालाई घटनास्थल देखी अन्दाजी १५/२० कि.मि दक्षिण तर्फ भेरीगंगा नगरपालिका वडा नं ५ कालिदमार स्थित उनकी बहिनी कमला पुनको घर नजिकबाट ईलाका प्रहरी प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । जैसीकोे शव आफ्नो घरभन्दा डेढ किलो मिटर टाढा खेतमा मृत अवस्थामा मंगलवार विहान ६ बजे स्थानियले फेला पारी प्रहरीलाई खबर गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शव फेला परे लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा अनुसन्धान गर्दा हत्यामा संलग्न रहेका बास्तोलालाई मंगलवार विहान ९ः३० बजेको समयमा प्रहरीे नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याईएको थियो । अनुसन्धानपछि बास्तोलाले जैसीको हत्या गरेको स्वीकार गरेका छन । घटनास्थल कार्य पुरा गरी लास पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका (डिएसपी) एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । जैसी खेतबारीमा सानो कच्ची घरमा एक्लै बस्दै आएकी थिइन ।

तपाईको प्रतिक्रिया