सल्यान। सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको छ। बिहिवार बिहान १० बजेर ५० मिनेटको समयमा बनगाड कुपिण्डे नगरपालिका १० रजेखोला स्थित भित्री कच्ची सडकखण्डमा बालुवा लोड गरी बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर तर्फ जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ८ जना घाईते भएका हुन् । घाइते हुनेहरुमा सल्यान बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर बस्ने १६ वर्षका तिलक बुढा, सोही ठाउँका १८ वर्षका भुपाल बुढा, १४ वर्षका गोपाल पुन, १६ वर्षका सुमन पुन, १७ वर्षका जिम बहादुर बुढा, १७ वर्षका कुलबिर पुन, २१ वर्षका झुपलाल घर्ती, र २१ वर्षकै नन्दलाल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । टयाक्टरमा एक जना सवार १८ वर्षका भिम बहादुर बुढा सकुशल छन भने ट्याक्टर चालक फरार रहेको र उनको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी सन्तोष खनालले जानकारी दिए । ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटर तल खसेको छ भने उक्त घटना स्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौर बाट ४ जनाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी निरीक्षक जगत नेपालीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएकोे सुचना अधिकारी खनालले जानकारी दिए ।


दर्शन खबर । २४ कार्तिक २०७९, बिहीबार