सुर्खेत । तीन वर्षअघि जाजरकोट–डोल्पा सडक खण्डको पासागाड रिम्ना सडकको काम काम सुरु भयो। तर १७ किलोमिटर सडकमा अहिलेसम्म पिच हुने सुरसार गरिएको छैन। कच्ची सडकको किनारा फराकिलो बनाउने काम बाहेक कुनै काम भएको छैन।अहिले यही सडकको अगाडिको भाग अर्थात् जाजरकोटको तल्लुसम्म पिच गर्न बोलपत्र भएर निर्माण व्यवसायी समेत छनोट भइसकेको छ। तर त्यहाँ पनि कामको सुरसार छैन। यी सडक निर्माणको जिम्मा यति बिल्डर्स प्रालि ललितपुर सातदोबाटोले लिएको छ। कामको जिम्मेवारी लिने तर काम समयमा नगर्दा सडक डिभिजन कार्यालय चौरजहारी समेत हैरान भएको छ।
प्रालिका गोरखबहादुर केसी अघिल्लो कार्यकालमा आठबीसकोट नगरपालिकाका प्रमुख थिए। अहिले नेकपा माओवादी केन्द्रका प्रदेश समितिका सदस्य छन्। जाजरकोट –डोल्पा सडक खण्डको जिरो प्वइन्ट पासागाडबाट तल्लुसम्म उनले नै ठेक्का लिएका छन्। तोकिएको समयमा यो सडक पिच नगर्दा सधैँ म्याद थप्ने काम हुँदै आएको सडक डिभिजन चौरजहारीले जानकारी दिएको छ। यो सडकको काम नहुँदा जाजरकोटका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले गाली खाइरहेका छन्। त्यस्तै जाजरकोट सदरमुकामबाट जुम्ला जोड्ने सडक अन्तरर्गत खलंगा पाँचकाटिया सम्माको सडकमा बर्सेनी बजेट विनियोजन गरी मर्मत गरिए पनि प्रभावकारी काम नहुँदा यहाँका जनप्रतिनिधि सधैँ आलोचित हुने गरेका छन्। यो सडकमा यो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरिएको छ।
यस्तै जिल्लामा विद्युतीकरण गर्न चार वर्षअघि लागेका ठेक्कामा अहिलेसम्म काम भएको छैन। ६ महिना भित्र पूरा गर्ने भन्दै ठेक्का लिएको कम्पनीले चार वर्षसम्म काम नगरेको हो। ठेक्का लिने तर समयमै काम नगर्ने कारण जिल्लाको विकास निर्माण ढिलो हुनुका साथै बर्सेनी राजनीतिक दलका उम्मेदवारको विकासका लागि एजेण्डा बनाउन सजिलो भएको छ। अहिले सबै अधुरा काम पूरा गर्ने भन्दै सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारको प्रमुख चुनावी नारा रहेको छ। ३० महिना भित्र पुरा गर्ने भनिएको नलगाड जलविद्युत् आयोजनाको काम ६ वर्षसम्म पूरा नभएकाले यो समेत चुनावी एजेण्डा भएको छ। जिल्लाका आन्तरिक तथा ठूला सडक सबै चुनावी एजेण्डामा समेटिएका छन्। २०६५ देखि विकास निर्माणका लागि पहल सुरु भएको जाजरकोटमा दुर्गम जिल्लाको सूचीबाट माथि उठेको आभास भए पनि अझै धेरै काम बाँकी रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। जाजरकोटको कुदुबाट डोल्पाको त्रिपुराकोटसम्मको विद्युतको ठेक्का रद्द गरी फेरि नयाँ ठेक्काको काम सुरु भएको छ। तीन वर्षसम्म काम नभएपछि ठेक्का रद्द गरेर नयाँ ठेक्का गरिएको हो। जिल्लामा रहेका २५ वटा टेलिफोन टावरमध्ये अब १० वटा निर्माण हुन बाँकी छ। निर्माण भएका टावरसमेत सञ्चालनमा आएको छैन। यी योजना पूरा नभएको प्रत्यक्ष फाइदा राजनीतिक दललाई नै भएको छ। सबै योजना पूरा गर्ने भन्दै उनीहरूले अघिल्लो चुनावमा भोट मागेका थिए अहिले अधुरो रहेको भन्दै पूरा गर्न समय दिन अनुरोध गर्दै भोट मागेको छन्।थाहाखबर


दर्शन खबर । २४ कार्तिक २०७९, बिहीबार