कर्णालीमाथि आर्मीको जित, प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । निर्णायक कर्णाली प्रदेशलाई १४० रनले पराजित गरी विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट एपीएफ यसअघि नै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । मंगलबार कर्णालीलाई हराएपछि आर्मीले ३ खेलबाट ६ अंक जोडेर समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । यो खेलमा कर्णाली विजयी भएको अवस्थामा गण्डकीले ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्ने थियो । यो सँगै प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेता एपीएफ र ‘बी’को उपविजेता मधेश प्रदेश तथा समूह ‘बी’को विजेता नेपाल पुलिस र ‘ए’को उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलहरु बिहीबार हुनेछन् । एपीएफ र मधेशले त्रिवि मैदान र पुलिस र आर्मीले मूलपानी मैदानमा खेल्ने तालिका छ ।

मूलपानी मैदानमा २५५ रनको लक्ष्य पछ्याएको कर्णली प्रदेश २८.३ ओभरमा ११४ रनमै समेटियो । कर्णालीका लागि ओपनर विपन रावलले सर्वाधिक ४८ रन बनाए । अर्को एण्डबाट लगातार विकेट गुमाएको कर्णालीका लागि अर्जुन घर्तीले १७, प्रशाह जैसी र सन्दीप शाहीले ११–११ रन जोडे । कर्णालीलाई सस्तैमा रोक्न आर्मीका पार्टटाइम बलर रोहितकुमार पौडेलले ३ विकेट लिए । रोहितले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिए । हरि चौहान र साहब आलमले समान २ –२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रनको योगफल खडा गरेको थियो । कप्तान विनोद भण्डारीले २८ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक अविजित ३७ रन बनाए । राजेश पुलामीमगर पनि २८ रनमा अविजित रहे । कुशल मल्ल र रोहित पौडेलले समान ३५ रन जोडे । हरि चौहानले ३१, अर्जुन साउदले २०, अनिल मण्डलले १७ र भीम सार्कीले २९ रन बनाए । आर्मीले २२ अतिरिक्त रन पाएको थियो । बलिङमा कर्णालीका प्रकाश जैशीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले २ र दिनेश अधिकारीले १ विकेट लिए । अनलाइनखबर

तपाईको प्रतिक्रिया