नेपालमा थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १५० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९४४ पुगेको छ । यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ७२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार १६८ पुगेका छन् ।

तपाईको प्रतिक्रिया