निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय रहेको गृहको निष्कर्ष

विराटनगर । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् ।

‘निर्वाचनको सबै तयारी पूरा भइसकेको भएपनी पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेको प्रवक्ता पोखरेलले बताए ।
निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न उनले जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने उनले बताए । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेकोे बताए ।

मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने उनले बताए । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने र निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।
प्रदेशस्तरीय गोष्ठीको उदघाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार गम्भीर रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया