सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेलले २८ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन । शुक्रवार एमालेको पार्टी कार्यालय वीरेन्द्रनगरमा कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानको लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने आफ्नो पहिलनो योजना रहेको बताएका छन् । कँडेलले विधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल गर्ने, वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग गर्ने नीति बनाउने, वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरी कार्यान्वयनमा जोड दिने प्रतिवद्धतामा पुर्णताका साथ प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
प्रतिवद्धता पत्रको छैटौँ र सातौँ नम्बरमा घुस्रा, रहरपुर, पर्सेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने, उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गर्ने त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने, निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिने, सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मिनी सिंहदरबारका रूपमा विकास गरिने, काँक्रेविहार, देउतीबज्यै, बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकोंडा, सिद्धपाइला, रानीघाट र गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ । साथै १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिने, कोहलपुर सुर्खेत सडकखण्डलाई फोरलेनको रूपमा स्तरोन्नति गर्ने, मूलपानी रानीघाट तेलपानी भुरीगाउँ सडक निर्माण गर्नुका साथै बामेखोला भेरीपुल निर्माणाधीन सडकको स्तरोन्नतिमा जोड दिइने प्रतिवद्धता पत्रमा समाव्श गरिएको छ ।
यस्तै सुब्बाकुनादेखि कोलडाँडासम्म उपत्यकाको बीच भागमा हटलाइन सडक निर्माणका लागि पहल गर्ने, साथै वीरेन्द्रनगरको ट्राफिक समस्याको समाधान गर्न जोड दिने, सुर्खेत विमानस्थल जाने इत्रामखोला, देउतीबज्यै मन्दिर जाने नेवारेखोला, वीरेन्द्रचोकदेखि यरीचोकसम्म जाने खोर्केखोला र पर्सेनी खोलामा पुल तथा कल्भर्टहरू निर्माण गर्ने, प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ । यस्तै सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाउने, वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला स्थापनाका लागि पहल गर्ने, बहुप्राविधिक शिक्षालय स्थापना गरी शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई बजारीकरण गर्ने, हालको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रका रूपमा विकास गर्ने, श्रम डेस्क स्थापना गरेर श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रणाली व्यवस्थित गर्ने उल्लेख गरेको छ ।
साथै मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पसलाई गुणस्तरीय प्रतिस्पर्धी र उच्चतहको अध्ययन, अनुसन्धान तथा शोध केन्द्रको रूपमा विकास गर्न पहल गर्ने, सामुदायिक विद्यालयहरूका लागि हाल विनियोजन गरिंदै आएको बजेटमा वृद्धि गरी सुरक्षित भवन, आवश्यक जनशक्ति, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुद र सरसफाइको उचित प्रबन्ध गर्दै निजी शैक्षिक संस्थाहरूलाई पनि व्यवस्थित गर्ने, यस क्षेत्रमा कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना भएका स्थानलाई पकेट क्षेत्रका रूपमा विकास गरी स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्न वीरेन्द्रनगरका विभिन्न स्थानमा हाट बजार सञ्चालनमा ल्याउने, सहकारी संस्थाहरूलाई एकीकरण गर्दै उत्पादन र बजारीकरणसँग जोड्ने, युवा वैज्ञानिक तथा खोज अनुसन्धानका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग सहकार्य गरी वीरेन्द्रनगरमा आधुनिक साइन्स पार्क स्थापना गर्ने, युवाहरूको सर्वाङ्गीण विकासका लागि प्रदेश राजधानी वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त पुस्तकालय स्थापना गर्नुका साथै प्रमुख सार्वजनिक स्थानलाई फ्री वाईफाई जोन बनाइने प्रतिवद्धता पत्रमा कँड्लले उल्लेख गरेका छन् ।
यस्तै सामाजिक न्याय, समता, समावेशीता र सीमान्तकृत वर्ग तथा समुदायको उत्थानका लागि कानुन निर्माण र आवश्यक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने, द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि सीप विकास एवम् रोजगारीका अवसरहरू सिर्जना गर्ने, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैगिक अल्पसंख्यक, दलित र महिलाको सामाजिक सुरक्षा तथा अधिकार संरक्षणमा जोड दिने, कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गरी यस क्षेत्रका भाषा, साहित्य, सभ्यता, कला र संस्कृतिको जगेर्ना, प्रवद्र्धन तथा विकास गर्ने, आमसञ्चार क्षेत्रको संस्थागत विकासका साथै पत्रकारहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि नीति, कार्यक्रम र बजेटको प्रबन्ध गर्न पहल हुने, निजी क्षेत्र, उद्योगी तथा व्यवसायीहरूको हित संरक्षण, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण र व्यवसायिक सुरक्षाको प्रत्याभूति गराउन आवश्यक नीति निर्माण र कार्यक्रमहरू सञ्चालनका लागि पहल गर्ने, भूमिहीन किसान, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गरी पूर्जा वितरणका लागि पहल गर्ने, उपत्यकाको ढल निकासको गुरुयोजना बनाइ कार्यान्वयन गर्न पहल गर्ने कँडेलले महत्वका साथ प्रतिवद्धतामा उल्लेख गरेका छन् ।


दर्शन खबर । १८ कार्तिक २०७९, शुक्रबार