मतदाता नामावलीबाट दुई लाख ५० हजार मतदाताको नाम हटाइयो

काठमाडौं । मतदाता नामावलीबाट दुई लाख ५० हजार मतदाताको नाम हटाइएको छ। निर्वाचन आयोगले आमनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम दुई लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाइएको जानकारी दिए। आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले भदौ तेस्रो साता मतदाता नामावलीमाथि दाबी विरोधका लागि वडामा सूची पठाउँदा वडाले गरेको सिफारिसका आधारमा मतदाताको नाम हटाइएको बताए। वडा सचिवले वडा कार्यालयमा दर्ता कायम मृतकको नामसँग भिडाउँदा फेला परेका मृतकको नाम नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गरेको थियो। आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्। स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो। स्थानीय निर्वाचनपछि मतदाता नामावली दर्ता सुरु हुँदा करिब चार लाख ७१ हजार जनाको नामावली सङ्कलन गरिएको थियो।

तपाईको प्रतिक्रिया