कालिकाेटमा भर्याङसहितको पुलको फोटो भाईरल

कालीकोट । कालीकोटमा अहिले भर्याङसहितको पुलको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।कालीकोटको जितेगडामा झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयले पुल चढ्न भर्याङको सहारा लिने गरेपछि फाेटाे भाईरल भएकाे हाे । गत असोज १९ गतेदेखि २५ गतेसम्मको लगातारको वर्षापछि आएको बाढीले पुलमा क्षति पुर्याएको थियो । अहिले कालीकोटको जितेगडा पुगेका नागरिकले नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका आवतजावतका लागि यही पुलको प्रयोग गर्दै आएका छन् । त्यस्तै, बाजुरा र हुम्ला जाने नागरिक पनि यही पुलमार्फत आवतजावत गर्छन् ।

सान्नीत्रिवेणी १ मा रहेको लुसा गाउँ नजिकैबाट आएको पहिरोले कर्णाली करिडोर अवरुद्ध गरे पनि नागरिकको आवतजावत भने रोकिएको छैन । माथिबाट निरन्तर पहिरो खसे पनि आवतजावतका लागि छोटो बाटो हुने भएकाले उनीहरु यही पुलमार्फत हिँडडुल गर्दै आएका छन् ।तत्काल नागरिकको सहज आवतजावतको लागि स्थानीयले भर्याङ निर्माण गरेर काम चलाइएको र पुल पुनः निर्माणका लागि समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।  


तपाईको प्रतिक्रिया